Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsसमाचारमा कोरिएका सीमारेखा

समाचारमा कोरिएका सीमारेखा

  • राजेश कोइराला
Rajesh Koiralaअमेरिकाको कन्सासमा गत जुलाई २ को सडक दुर्घटनामा उर्मिला शर्माको निधन भयो। ‘एक कान दुई कान मैदान’ भएर फैलिने खबरलाई सामाजिक सञ्जालले सबै नेपाली–भाषीसामु पुर्‍याए। अमेरिकाका नेपाली र नेपाली–भाषी भुटानीले आफ्नै शैलीमा फेसबुक, टि्वटरमा खबर राखे। घटनाको क्षणभरमा नेपालीले उनलाई नेपाली ठाने र नेपाली–भाषी भुटानीले भुटानी। उर्मिला नेपाली–भाषी भुटानी हुन्। यो नठम्याउन्जेल उनी नेपाली पनि भइन् र नेपाली–भाषी भुटानी भइन्। तथापि उनलाई चिन्ने भुटानीहरुले ‘हाम्रै चेली’ हुन् भन्ने निर्क्योल निकालिसकेका थिए। उनलाई विभिन्न सञ्चारमाध्यमले नेपाली भनेर पनि लेखिदिए। यो घटना समेटेर स्तम्भ लेख्ने क्रममा ‘नेपाली, नेपाली…’ भनी दोहोर्‍याइएको कसलाई हो? भन्ने स्वयं स्तम्भकारले महसुस गरिरहेको छ। अमेरिकामा नेपाली नेपालबाट आएकालाई र नेपाली–भाषी भुटानीलाई भुटानी भनिन्छ। हामी मूलतः दुई थरीका नेपाली भयौं, यहाँ।
अमेरिकामा नेपाली बोल्ने मुख्य दुई समूह छन्। भारत, बर्मा आदिबाट अमेरिका भित्रेका नेपाली पनि छन्। जनगणना २०१० अनुसार नेपालबाट आएका नेपाली–मूलका मानिसको संख्या ५९ हजार ४ सय ९० छन् र नेपाली–भाषी भुटानी ७७ हजार ७ सय ३२ गरी अमेरिकामा कुल १ लाख ३७ हजार २ सय २२ नेपाली–भाषी भएका छन्। तर नेपालबाट आएका नेपाली–मूलका मानिसको संख्या भने जनगणना देखिएभन्दा तीन वा चार गुणा भएको अनुमान पनि गरिन्छ।
सानाभन्दा साना विषयमा एकथलो भेला हुन सकेका उदाहरण कमै भेटिन्छन्। एउटै नगरमा दुई थरी भानु जयन्ती हुन्छ। उनै भानुलाई सम्झन किन फरक प्रयास गरिन्छ? दशैं आउँछ, तिहार आउँछ। लक्ष्मी जयन्ती किन फरक हलमा गरिन्छ? भाषा एउटै, साहित्यकार उही, किन गाइन्छ फरक स्तुति? अमेरिकामा विश्वका सबैजसो देशमा मान्छे छन्। जहाँबाट आएको हो वा जुन देशमा जन्मेको हो, त्यसलाई उत्पत्ति राष्ट्र (कन्ट्री अफ ओरिजिन) भनिन्छ। हो, यहाँको परिभाषामा कन्ट्री अफ ओरिजिनमा भलै हामी फरक हौं। तर जीव–विज्ञानको हिसाबले कन्ट्री अफ ओरिजिन एउटै हो, नेपाल। त्यस अर्थमा धेरै हिसाबले हामी एक हौं।
हामी भाषा, धर्म, संस्कृति, परम्परा आदिले एक भए पनि एउटै बाजेका सन्तान कोही नेपाल र कोही भुटानमा जन्मे–बढे पनि हामी अमेरिकामा लक्ष्मण–रेखा कोरिरहेका छौं। यसरी थर, जात मिलेपछि बेलाबेला हुने असमञ्जस्य आफ्ना थलामा होला। नेपाल र नेपालीले ठूलो छाती पार्नै पर्छ। नेपाली–भाषी भुटानीलाई देशमा अटाउन नसके पनि छातीमा अटाउनुपर्छ। यसरी अटाउन सकेनौं भने यस्तो भइरहन्छ। नेपालीभाषी भुटानीलाई पनि नेपालभित्र राम्रो प्लेटफर्म आवश्यक हुन्छ। पुस्तक छाप्न भुटानी नेपाल पुग्छन्। गीत रेकर्ड गर्न नेपाल पुग्छन्। विमोचन नेपालमा गराउँछन्। यस्ता विमोचनका समाचार पनि आउन् भन्ने चाहन्छन्। यो नेपाली सञ्चारमाध्यमले बुझ्न आवश्यक पनि छ। यो पुस्ता वा अवस्थामा भएको दूरी आउँदो पुस्ता वा अवस्था पक्कै रहँदैन। भेद बालबालिकामाझ हुन्न। ठूलाले गर्छन्, भेद। ठूलाले सिकाउँछन्, भेद। यो नेपालको कुरा हो, भुटानको कुरा हो। यहाँ भेद सिकिँदैन, अनि गरिँदैन। त्यो पनि नेपाली र नेपाली–भाषी भुटानीबीच।
हामी नेपाली–भाषी भुटानीका मात्र कुरा गर्दैछौं। समय बित्दै जाँदा अन्तर्देशीय विवाह भएका नेपालीलाई हाम्रा समाचारले पराई ठान्न सक्छन्। सन् २०११ फेब्रुअरीमा मिनेसोटामा एउटा बन्दुकधारीको गोलीबाट नौ वर्षे बालकको मृत्यु भयो। थर नेपाली थियो। नाममा नेपालीपन थिएन। उनी नेपाली–अमेरिकीको विवाहबाट जन्मिएका थिए। उनको समाचार यता देखिए। उता लेख्न हामी आफैं अन्कनायौं।
(स्तम्भकार ‘अक्षरिका‘ न्युजलेटर का सम्पादक हुन् । यो लेख २०७१ भदौ १/२०१४ अगस्त १७ का दिन नेपालमा निस्कने ‘नागरिक दैनिक‘ मा प्रकाशित भएको थियो ।)