हाम्रो नेपाली भाषा भाग २ आएको छ । खिम खतिवडाले तयार पारेको यो पुस्तक अप्रिल १५, २०१८ मा आयोवाको डिमोइनमा सार्वजनिक गरिएको हो । किताबमा डा. लक्ष्मीनारायण ढकाल तथा लेखक / सम्पादक खतिवडाको भूमिका छ । हाम्रो नेपाली भाषा भाग १ को तुलनामा यमसा भूमिका छोटा पारिएका छन् । यो स्वागतयोग्य छ ।
यस भागमा व्याकरणमा बढी ध्यान दिइएको छ । परिशिष्ट पूरै शब्दावली र व्याकरणमा केन्द्रित छ । १३ वटा पाठमध्ये ४ संवाद, ३ गीत/कविता, २ गद्य/निबन्ध, ३ कथा, र एक जीवनी छन् । पाठहरू छोटा वाक्य र सरल शब्दमा लेखिएका छन् । पुस्तक ‘परिचय’ शिर्षकको संवादबाट सुरू भए पनि पहिलो पाठ लोकप्रिय बालकवि रामबाबु सुवेदीको लोकप्रिय ‘सात बार सात दिन’ हो । ‘मलाई चकलेट पनि’ शिर्षकको पाठमा अंकको ज्ञान र सामान खरिद गर्दा सूची बनाउन सिकाइएको छ, र यो आवश्यक हो । ‘रामको दिनचर्या’ मा समय-ज्ञान छ भने ‘मामाको कल’ मा नातागोता केलाइएको छ । ‘कागको जुक्ति’ ईसप (ग्रिकका कथावाचक) को लोककथा यहाँ पनि पढ्न सकिन्छ । ‘असल मान्छे बन’ मा बानी र स्वस्थ्य रहने आदतका विषयमा लेखिएको छ । ‘हाम्रा आदिकवि’ भनेर आदिकवि भानुभक्त आचार्यको जीवनी छ । गौतम बुद्धलाई सम्झने कथा ‘को ठूलो ?’ यस पुस्तकको अन्तिम पाठ हो । यसरी हेर्दा समग्रमा सामग्री समायोजन निकै कुशल ढंगले गरिएको देखिन्छ ।
सामान्य शुद्धाशुद्धिका ठाउँहरू भेटिन्छन् । जस्तो: सोमबार र सोमवार दुवै छन् । दुवै लेख्ने चलन भए पनि शिक्षक-शिक्षिकाले एकरूपता खोज्न सक्छन् । त्यस्तै सामान्य त्रुटी नदेखिएका होइनन्: भानुभक्तइलाई (पृ. ३४), उकछिन (पृ. ४१), फ्यँकिदिन्छन् (पृ. ५४), तालिक (पृ. ५६), सुनऊ (पृ. ६९), भूकाल (पृ. ७५) आदि । मनाउनु, बचाउनु, वाण वा बाण, गाउन आदिमा चन्द्रविन्दु चाहिँदैनन् । के के, कुन कुन, को को, कहाँ कहाँ आदिलाई छुट्टाछुट्टै लेख्न सकिन्छ वा बीचमा ‘-‘ राख्दा हुन्छ । तर पुस्तकमा ‘कस्ता-कस्ता’ लेखिएको भेटिन्छ । पूर्णविराम जोडेर लेखेको पाइन्छ तर विराम-चिह्न, उद्वरण-चिह्न, प्रश्न-चिह्न, भुईं-कटहर, राइस-कूकर, स्नान-गृह, प्रेसर-कूकर, वर्तमान-काल, भविष्यत्-काल लेख्दा बीचमा ‘-‘ राख्दा अलि स्पष्ट देखिन्छ, यो चलन हो । नानीहरूलाई बुझाउन सजिलो होला भन्ने आशय । यी जोडेर लेख्नु ठिकै मान्ने हो भने खाने कुरा, व्यवस्था अन्तर्गत किन छुट्टाछुट्टै लेखियो भन्ने प्रश्न उठ्छ । पैंचो लिएका अंग्रेजी शब्दलाई अंग्रेजी उच्चारणमै लेखिदिनु नानीहरूका लागि फाइदाजनक हुनसक्छ: टार्गेट (तारगेट), फेब्रुअरी (फरवरी), अप्रैल (अप्रिल), आदि । के अंग्रेजी महिनाका नामका लागि ‘नेपाली बृहत् शब्दकोश’ लाई आधार बनाउन सकिदैन र ?
करिब १०.९ इन्च लम्बाइ र ८.३ इन्च चौडाइको यो किताब भित्री ९६ आवरण ४ गरी १०० पृष्ठको छ । किताबको मूल्य १२ अमेरिकी डलर राखिएको छ । आवरण र भित्री पानाहरू रङ्गिन छन् । आवरण नन्दु खतिवडाले तयार पारेका छन् । भित्रका चित्र इन्टरनेटसहित विभिन्न स्रोतबाट लिइएका छन् । सन्दर्भ-सामग्रीको सूची अन्तिम पृष्ठमा देखिन्छ ।
हाम्रो पाठशाला, अमेरिका यो किताबको प्रकाशक हो भने वीणा ग्राफिक्स, वाराणसी (भारत) को नाम मुद्रणमा उल्लेछ छ । यो किताब सन् २०१८ मार्चमा छापिएको हो । पहिलो संस्करणमा एक हजार प्रति निकालिएको उल्लेख छ ।
(केही संशोधनसहित अक्षरिकाको मे २०१८ अंकबाट साभार)